काव्यवाचनकला प्रशिक्षण : एक टिपोट

August 19, 2005

- नर्मदेश्वरी सत्याल
विश्वमै परम्परागत हिसाबमा पुस्तौँदेखि कवि, कविता र वाचनकला एकापसमा पुरकका रूपमा परिचित छन् । यति हुँदाहुँदै पनि यी तिनमा देखिने पृथकता आजसम्म खुलदुलीकै विषय बनेर अघिबढिरहेको छ । यसै सन्दर्भमा कवि, कविता र वाचनलाई एकसाथ अघिबढाउनुपर्छ भन्ने उद्देश्य लिएर केही देशले प्रशिक्षण र प्रतिस्पर्धाद्वारा प्रयास गरेका प्रमाणहरू जुटाउन सकिन्छ तर हाम्रो देशमा भने बेलामौका कवितावाचन प्रतिस्पर्धाका रूपमा गरिने गरेका भए पनि संस्थागतरूपमा प्रशिक्षण दिने गरेको देखिँदैन । यसको अर्थ कविता पढिँदै पढिँदैन भन्न खोजिएको होइन । स्वेच्छाले वा पाठयक्रममा निर्देशित कविता पठन त हुन्छन्, तर वाचन गर्ने उद्देश्यले खासै वक्ता र श्रोताबीचको तादात्म्य स्वीकारिएको हुँदैन । मावि कक्षामा कविताको सामान्य परिचयसँगै पद्य कवितामा गति, यति मिलाई लयबद्ध गाउन लगाउने प्रयत्न आंशिकरूपमा भए पनि गरिएको छ । यसको अलावा गद्यकविता केकसरी वाचन गर्नुपर्छ भनी मापदण्ड निक्र्योल गरिएको पाइँदैन ।
प्राचीन समयदेखि नै विषेश महत्त्व पाउँदै आएको कविता विधाले अत्याधुनिक समयमा आरोप-प्रत्यारोप पनि खेप्नुपरिरहेको छ । पद्यकवितामा पाइने कवित्व शक्तिलाई मारेर भजनतिर मोडिनाले काल्पनिक संसारको स्थापना भई कविताको महत्त्वमाथि ह्रास आउन थाल्यो भने गद्यकवितामा विवरणात्मक बनी निबन्धात्मक प्रस्तुतिमा लेखिनपुग्दा गद्यकवितातिर वितृष्णा पैदा हुन थाल्यो । परिणामस्वरूप कविताले बढीभन्दा बढी जनमानसमा प्रभावकारी छाप लगाउन सकिरहेको छैन । अझसम्म पद्यकविले गद्यकविलाई कवि नठान्नु र गद्यकविले पद्यकविलाई छन्दे भन्नु बिडम्बना हो । हामी वाक्यांशमा रूपमा लिखित र वाचित अभिव्यक्तिलाई पनि कविताका श्रेणीमा श्रेणीबद्ध गर्दै आएका छौँ । किनभने उक्त वाक्यांशले गद्यरूपबाट अलग्गिएर कवितांशको जातीय रूप धारण गर्नपुगेका हुन्छन् । यसले गर्दा स्वयम् कवि पनि रणभुल्लमा अलमल्लिएका छन् ।
कविता कविता नै भएर उभिनुपर्ने हो, कविता, अकविता भएर उभिएका प्रशस्त उदाहरण प्रस्तुत गर्न सकिन्छ । प्रथमतः कविता र अकविता छुटयाउने आधार भनेको कवित्वशक्ति नै हो र यो वाचनकलासँग अन्तरसम्बन्धित भएर जीवित बन्छ । अतः वाचनकला कविताको मुटु हो भने लेखनकला फोक्सो र कवि शरीर हो ।
कवि, कविता र वाचनकलाको घनिष्ठता केलाउने उद्देश्यले नेपाली पृष्ठभूमिमा संस्थागत प्रयास गरी नागार्जुन साहित्य प्रतिष्ठानले कलासम्बन्धी पहिलो थालनी गरेको छ । सम्भवतः यो नै काव्यिक वाचनकलासम्बन्धी पहिलो थालनी हो भन्ने लाग्छ । गत ०६१/१२/२२ देखि ०६२/०१/०९ सम्म १५ दिन करिब दुई घण्टाको समयावधिमा अग्रजकवि र नयाँ कविबीच दाहालको दैलो, अनामनगरमा प्रशिक्षण एवम् अन्तर्त्रिmयात्मक कार्यक्रम सञ्चालन गरियो । उक्त कार्यक्रममा दिनहुँ एक कविलाई प्रतिनिधिकविका रूपमा छनोट गरी कवितावाचन गर्न लगाउने र अन्य कविको सुन्न लगाउनेसाथै अनुकरण र मौलिकतासम्बन्धी चर्चा-परिचर्चा चलाई कविको स्वेच्छिक अभिव्यक्तिलाई महत्त्व दिनुपर्ने कुरामा जोड दिइयो । चाहे कविता गद्यलयमा वाचित होस्, चाहे पद्यमा होस्, कवित्वशक्ति छैन भने त्यो कविताको श्रोतालाई आकर्षण गर्न सक्दैन । कवितामा प्रयुक्त भाव र अन्तरलयलाई कविले उद्घाटित गर्न सक्नुपर्छ भन्ने कुराप्रति कवि सचेत हुनुपर्छ भन्दै उपस्थित कवि तथा गीतकारले आ-आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानका सल्लाहकार यज्ञनिधि दाहालले कार्यक्रमको उद्देश्य, महत्त्व र प्रकृतिबारे जानकारी दिनुभएको थियो । कार्यक्रमको उद्देश्यलाई सीमाङ्कन गरी अन्य आमन्त्रित व्यक्तिहरूले स्वदेशी तथा विदेशी कवि एवम् सङ्गीतकारसँग उठबस गर्दाका अनुभव र निर्णयबारे जानकारी गराउँदै आँउदा दिनमा नेपालले पालन गर्नुपर्ने दायित्वसम्बन्धी सुझाव दिनुभयो ।
छन्दकवितामा छुट्टै -निजत्व) शैलीको निर्माण गर्न सफल कवि रामप्रसाद ज्ञवालीले कवितावाचन गर्दा भावअनुरूप वाचन गर्नुपर्ने र अभिनयमा जोड दिनुपर्ने कुरा व्यक्त गर्नुभयो । अर्का छन्दकविताका प्रखर युवाकवि देवी नेपालले छन्दकविताका लयको प्राधान्य रहनेहुँदा गति, यति ख्याल गर्नुपर्ने, कवितावाचनमा अनुकरणको विशेष भूमिका रहने, स्वयम् गुनगुनाहटमा पनि वर्णमात्रिक छन्दका लय टिप्न सकिने विचार अघिसार्नुभयो । त्यस्तै, गरेर मधुर स्वरका धनी भूवनहरि सिग्देलले पद्यकविताको शास्त्रीय नियममा बाँधिएर आ-आफ्नो शैली निर्माण गर्न सकिन्छ भन्दै निजी ध्वनिद्वारा श्रोतालाई आकर्षण गर्न सक्षम देखिनुभएको थियो ।
कवितामा सङ्गीत हुन्छ । रवीन्द्रनाथ टेगौरका कवितामा सङ्गीत गुञ्जिएका कारण काव्यात्मक लयमा पनि सङ्गीत भर्ने काम गरियो र ‘रवीन्द्र सङ्गीत’ नाम दिइयो । गायिका लोचन भट्टराईले कविता र गीत एकापसमा अन्तरसम्बन्धित हुन्छन् भनी कवितालाई सङ्गीतात्मक लयमा वाचन गरी नमुना प्रस्तुत गर्नुभएको थियो । उत्कृष्ट कविताको छनोट गरी अडियोभिडियोको जमानामा कवितालाई मूर्त बनाउन भिजियोलाइज गर्न सक्नुपर्छ भनी नेपाली कवितालाई जीवन्त बनाउँदै नेपालको छवि उचो राख्न राष्ट्रले पहल गर्नुपर्ने विचार भट्टराईले प्रस्तुत गर्नुभयो । कवि मोमिला जोशीले कवितामा विचार र भावना हुन्छ, विचारले मस्तिष्क पगाल्छ र भावले अन्तरहृदय गाल्छ । यही भएर नै कवितालाई प्रभावपूर्ण ढङ्गले गाउन सक्नुपर्छ । उहाँको भनाइ थियो, ‘गाउनुअघि कविताको भावमय पोखरीमा चुर्लुम्म डुब्न सक्नुपर्छ र मात्र अरूका पनि कविता गाउन सकिन्छ ।’ गायक रामकृष्ण ढकालले कवितालाई रसअनुसार अर्थात् शाब्दिक ध्वनिअनुसार वाचन गर्नुपर्ने, हलुका अभिनयको प्राधान्य रहने कुरा स्पष्ट पार्नुभयो । अन्त्यमा काव्यिक व्यक्तिहरूले हृदयको भुल्भुलाहट काव्य र सङ्गीत दुवैमा एकैसाथ बहन्छ भन्ने निस्कर्ष निकाली आ-आफ्नो गलाको पारख पस्कनुभयो ।
कवितावाचनकै सन्दर्भमा श्रीहरि फँुयाल, विप्लव ढकाल, कृष्ण शाह यात्री, चटयाङ मास्टरबाट विभिन्न विचार र अनुभव पृष्ठपोषणका रूपमा प्राप्त भयो । कक्षाकोठामा अनुभव साटासाट, छलफल र अन्तर्त्रिmयात्मक पद्धतिद्वारा कवितावाचनकलाका नमुना प्रस्त्ाुत गरिए । मञ्जुल र तुलसी दिवसका अनुसार निम्न कुरा व्यक्त भए- भमषाको सर्वश्रेष्ठ अभिव्यक्तिको रूपमा कविता रहेको हुँदा वाचनका लागि प्रशिक्षण दिनुपर्ने, असल श्रोता बन्न सक्नुपर्ने, कला, विचार र गलाको समन्वय भए मात्र कविता प्रभावकारी बन्नसक्छ भन्ने मञ्जुलको भनाइ रहयो । तुलसी मेहरले आजभोलि कविता मौनधर्मी भएको र बुझाउन विचारयुक्त वाचन गरिनुपर्ने, कविता विधालाई अडियो, भिडियो दुवैरूपमा विकसित गर्नुपर्ने, वाचनमा ध्वनि अलङ्कार महत्त्वपूर्ण हुने, एउटै कवितालाई पनि फरक-फरक ढङ्गबाट वाचन गर्न सकिने कुरा प्रस्त्ाुत गर्नुभयो ।
प्रशिक्षणको सुरु र अन्त्य यज्ञनिधि दाहालबाट भयो । उहाँका अनुसार कवितालाई आफूभित्र समाहित गर्न सकियो भने मात्र वाचन सफल हुनसक्छ । वाचनका क्रममा कवि चार ‘नि’ बाट मुक्त हुनुपर्छ- निसङ्कोच, निर्भय, निरपेक्ष र निस्पिmक्री । यी चार ‘नि’ बाट मुक्त हुन नसक्ता नै कवितावाचन प्रभावकारी बन्न सकिरहेको छैन भन्दै कविताको खाका उत्रन शब्दचयनमा ध्यान पुर्याउनुपर्ने, कविता कण्ठाग्र होइन, कण्ठस्थ गर्नुपर्ने, बढी सचेत हुन खोज्दा पनि कृत्रिमता भित्रिने कुराको जानकारी गराइयो । वाचनको क्रममा कविले कवितात्मक सोपानक्रमअनुरूप वाचन गर्नुपर्ने, आन्तरिक र बाहयसौन्दर्यको अनुभूति कविमा हुनुपर्ने, वाचनमा अनुक्रमको पनि भूमिका रहने कुरामाथि दाहालज्यूले थप प्रकाश पार्नुभएको थियो ।
प्रशिक्षार्थीले नमृुनाका रुप्ामा आफ्ना र अरूका गद्य, पद्य दुवै कविता वाचन गर्ने र राम्रा-नराम्रा पक्षमाथि विश्लेषण गर्ने काम सहभागीबाट दिनहुँ गरियो । धेरैले कविता भावमय हुनेहुँदा अन्तरहृदय झङ्कृत हुनुपर्छ वाचनमा भन्ने विचार अघिसारी जतिसक्दो नाटकीयता कवितावाचनमा हुन्छ, त्यति नै कविता मार्मिक बन्न सक्छ भन्ने तर्क उभ्याउनुभयो भने केही व्यक्तित्वले कविता विचारप्रधान पनि हुनसक्ने हुँदा ठयाक्कै नाटकीय नभएर आवश्यक ठानिएमा नाटकमा जस्तै अभिनय गर्न सकिन्छ भन्ने तर्क प्रस्तुत गर्नुभयो ।
प्रशिक्षक र प्रशिक्षार्थीको अन्तर्त्रिmयात्मक निस्कर्षबाट के कुरा पुष्टि हुन आउँछ भने ‘कविता वाचनकला’ न त ठयाक्कै सङ्गीत मात्रै हो न त नाटकीय अभिनय नै । यो त भावअनुरूपको लय र हलुका अभिनयमा सजिन सक्छ । अतः कवितावाचन कलालाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने र गद्यपद्यबीच देखापरेको वाचिक समस्यालाई अन्त्य गरी वाचनकलाविशेष भएका कारण कला र गला हुनेले वाचन गर्नुपर्छ र नहुनेले पठन र श्रवणका माध्यमबाट रसास्वादन गरी भाव पक्डने प्रयास गर्नुपर्छ ।
काव्यवाचन समापन समारोह ०६२/०१/१० गते ‘रिपोर्टस क्लब’ पुतलीसडकमा सम्पन्न भयो । समारोहमा विशेष अतिथिका रूपमा वरिष्ठ साहित्यकारद्वय वैरागी काइँला र कृष्णप्रसाद पराजुलीलगायत प्रशिक्षक-प्रशिक्षार्थी र अन्य काव्यप्रेमी व्यक्तित्व खुल्दुली र चासोका साथ कार्यक्रम अवधिभर उत्तिकै जागरुक देखिनुहुन्थ्यो । अतिथिहरूले आयोजकप्रति धन्यवाद र सराहना प्रकट गर्दै काव्यमा वाचनको महत्त्वपूर्ण भूमिका रहने कुरामा जोड दिनुभयो । छिमेकी राष्ट्र भारतमा काव्यिक वाचनलाई महत्त्व दिई प्रशिक्षण र प्रतिस्पर्धा हुँदै आएका प्रसङ्गको उल्लेख गर्दै नेपालमा ढिलै भए पनि संस्थागत प्रयासमा काव्यिक वाचनको सुरुवात गरिएकोमा खुसी व्यक्त गर्नुभयो । निर्दिष्ट व्यक्तिहरूको मन्तव्य र कवितावाचनपछि प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालले कलामा दक्षता बढाउन प्रशिक्षण र अन्तर्त्रिmया गर्दैजाने उद्देश्य प्रतिष्ठानले लिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रमको अन्त्यमा सभापति यज्ञनिधि दाहालले उपस्थित साहित्यिक व्यक्तित्वलाई धन्यवाद दिँदै निम्न बुँदामाथि प्रकाश पार्नुभएको थियो ।
- नेपाली साहित्य प्रतिक्रियावादीका कित्तामा मात्र सीमित छ, अबको साहित्य जनवादी हुनुपर्छ ।
- रङ्गमञ्चीय साहित्यको विकास गर्न साहित्यकार लाग्नुपर्छ ।
- गद्य, पद्य काव्यिक रचनाप्रति हेर्ने दृष्टिकोण फराकिलो हुनुपर्छ ।
- अग्रज कविका प्रतिनिधिमूलक स्वरको संरक्षण गरी अनुकरण गर्नुपर्दछ ।
- समीक्षकको व्यक्तिवादी धारणालाई निरुत्साहित गरी यथार्थपरक ढङ्गबाट साहित्यको मूल्याङ्कन गरिनुपर्दछ ।
- साहित्यमा देखिएका नयाँ वादलाई पनि स्वीकार्दै अघिबढ्न सक्नुपर्दछ ।
हालसम्म झन्डै पचास हजारको सङ्ख्यामा रहेका नयाँ, पुराना नेपाली साहित्यकारको लेखाजोखा गरी यथार्थको उद्बोध गर्नसके नेपाली साहित्यलाई गति दिन सकिने राय दाहालज्यूको थियो । रतिरागात्मक कोठेसाहित्यलाई योेग्यतम सामग्रीका रूपमा प्रचारप्रसार गर्दै आएका सञ्चारमाध्यमले साहित्यको मर्ममाथि कुठाराघात गरिरहेको अवस्थामा कवि, लेखक, गीतकार, सङ्गीतकार, नाटयकलाकार आदि एकै मञ्चमा उभिएर साहित्यको महत्त्व भुल्नुहुँदैन भन्ने भाव प्रायः सबैको भनाइमा गुञ्जिरहेेथ्यो ।
प्रशिक्षणद्वारा कोही तत्कालीन उद्देश्य छुन सफल होलान्, कोही नहोलान्, आफ्नै ठाउँमा छ । तर पनि यसले सबैमा दीर्घकालीन प्रभाव छाडेको हुन्छ । प्रशिक्षणले प्रशिक्षार्थीलाई हमेसा जिज्ञासा बनाइरहन्छ । म पनि विशुद्ध प्रशिक्षण /प्रशिक्षार्थी नभएर यी दुईको पुल बन्न सफल हुन्छ भन्ने विश्वासका साथ उमेरलाई थाती राखेर १५ दिन नागार्जुन साहित्यिक प्रतिष्ठानको प्राज्ञिक कार्यसँग सम्बद्ध भएँ । कुनै पनि काम साझा प्रयासमा मात्र सम्पन्न गर्न सकिन्छ । अतः सबै क्षेत्रको सहयोग र सल्लाहको अपेक्षा नागार्जुनले राखेको पाइएको पक्षलाई पनि मैले सकारात्मक रूपमा लिएको छु ।

Comments »

The URI to TrackBack this entry is: http://nagarjun01.blogsome.com/2005/08/19/1-6/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>