छन्दलेखनको समापन
August 19, 2005नभन्दे भँगेरी म आएँ लुकेर
‘नभन्दे भँगेरी म आएँ लुकेर
सुतेकी छ छोरी नरोओस् उठेर ।।
‘भएँ घाम छेक्ने, अध्याँरो कुनाको
झनै देश बन्दैछ आमाबिनाको ।।
कवि प्रोल्साल सिन्धुलीयद्वारा रचित भुजङ्गप्रयात छन्दको यो कविता पाठकका लागि मात्र नभई उनका लागि पनि नितान्त नयाँ प्रयोगको अवसर हो । गद्यलेखनमा क्रियाशील उनीजस्ता दुई दर्जन युवा स्रष्टाले छन्दलेखनकलाको प्रशिक्षण पाएपछि उनीहरूभित्रको लयबद्ध प्रतिभा ऊर्जावान ढङ्गले प्रकट हुन थालेको छ ।
त्यति मात्र होइन, शास्त्रीय र परम्परागत मान्यताको रूपमा मात्रै रहेको नेपाली छन्द कविता अत्याधुनिक तथा परिवर्तित समयको आवाजलाई पनि उत्तिकै लयात्मक, जनपि्रय र रसमाधुर्यरूपमा सम्प्रेषित हुनसक्ने कुरालाई हालै सम्पन्न छन्दलेखनकला प्रशिक्षणले प्रमाणित गरेको छ । सामाजिक जीवनमुखी साहित्यको निर्माणको लक्ष्यमा ‘सिर्जनात्मक संयोजनका लागि समीचीन सदन’ को भावलाई शिरोपर गर्दै यात्रारत नागार्जुन साहित्यिक प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षणका समापनका अवसरमा शनिबार ‘प्रतियोगितात्मक कविगोष्ठीको कार्यक्रममा उपस्थित छन्दमर्मज्ञ तथा अग्रज अपेक्षा नै नगरेका प्रतिभा आफ्नाअगाडि हाउभाउका साथ कविता गाउन थालेकोमा दङ्ग थिए । ‘अब छन्दको बहार नै आउने भयो,’ अतिथिकवि रमेश खकुरेलले भने । निणर्ायकमण्डलका संयोजक कवि मित्रलाल पङ्ज्ञानीलाई अझ अचम्म लागिरहेको थियो । तर ‘फूलको लासमाथि’ जस्ता गद्यविधाका कृतिबाट चिनिने पत्रकार/कवि पदम गौतमको कवितालाई प्रथम घोषित नगर्न सकेनन् । गौतमको शिखरिणी छन्दमा लेखिएको ‘मैले रोजेको’ शीर्षकको कविताले २१ जना अन्य प्रशिक्षार्थीका कविताको तुलनामा उच्च अङ्क प्राप्त गरेको थियो । पङ्ज्ञानीका साथ दाहाल यज्ञनिधि र प्रभा भट्टराईसमेतको संयुक्त मूल्याकङ्नमा उनले कुल ३ सय ५० पूणाङ्कमा २ सय ४९ अङ्क पाए । त्यसैगरी, कवि सुरेश सुवेदीको शार्दूलविक्रीडित छन्दमा लेखिएको ‘स्वर्गीय आमालाई चिठी’ नामको कविताले २ सय १५ अङ्क ल्याई द्वितीयको दर्जा पायो । तृतीय स्थान कवि रेणुका भट्टको ‘समय’ शीर्षकका लागि उपलब्ध भयो । तीनवटै कवितामा समुन्नत लोकतान्त्रिक चेतको पूर्ण आभाष मिलेको थियो । भट्टले सुशीला शर्मा र घनेन्द्र ओझाको तुलनामा मात्र १ अङ्क बढी ल्याएर आफूलाई घोषितरूपमा पुरस्कृत बनाइन् । सान्त्वनाको व्यवस्था नभएकाले समान अङ्क ल्याउने अन्य कवि प्रतिस्पर्धीको रूपमा रहे । त्यसो त अरू धेरैजसो कविताबीचको भिन्नता पनि त्यति टाढा रहेन । आजसम्म कविको रूपमा नचिनिने कल्पना खनाल, प्रज्ञा तिमल्सिना, दिनेश भण्डारीहरू प्रशिक्षणको प्रवाहबाट लयात्मकरूपमा प्रस्तुत भए । त्यस्तै, राई/झा जनजातिका प्रतिभाले पनि छन्दप्रशिक्षणमा उल्लेख्य लाभ गरे । प्रज्ञाले रचेको कवितांश पनि कम मार्मिक थिएन-
‘म भाग्दैछु अहिले बिरानो दिशामा
न कोही छ देख्ने अँध्यारो निशामा
नभन्दे भँगरी म आएँ लुकेर
सुतेकी छ छोरी नरोओस् उठेर’
विजयीलाई प्रमुख अतिथि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. वासुदेव त्रिपाठीले प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभयो । सोही अवसरमा उहाँले प्रशिक्षकद्वय रामप्रसाद ज्ञवाली र देवी नेपाललाई आभारपत्र प्रदान गर्दै उहाँहरूबाट कालजयी सौन्दर्ययुक्त महाकाव्य लेखिए एकेडेमीले प्रकाशन गर्ने वचन दिनुभयो । प्रशिक्षक नेपालले छन्दलेखनका लागि नागार्जुनले बाजी मारेको उल्लेख गर्दै एकेडेमी र साझाबाट यस्ता प्रयत्न नभएको गुनासो गर्दा डा. त्रिपाठीले नागार्जुनका बहुमुखी प्राज्ञिक कार्यको प्रशंसा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रामकृष्ण दुवाल, ज्ञवाली, भट्टराई तथा दाहालबाट पनि निरंकुशताको विपक्षमा सशक्तरूपमा कवितावाचन गरिएको थियो । प्रतिष्ठानले यसअघि काव्यवाचनकलाको प्रशिक्षण सञ्चालन गरेको थियो । प्रतियोगी कवितालाई प्रकाशन प्रयत्न गरिने जानाकारी आयोजकका तर्फबाट यादव थपलियाले दिनुभयो ।
(असार १९ को हिमालय टाइम्स दैनिकबाट)

